दफा २४
संस्थाको कोष
(१) संस्थाको एउटा छुट्टै कोष हुनेछ र सो कोषमा देहायको रकमहरू रहनेछन्ः–
(क) नेपाल सरकार,प्रदेश सरकार वा बैङ्क वा स्वदेशी वा विदेशी संघ, संस्था आदिबाट अनुदान वा ऋण स्वरूप प्राप्त रकम,
(क१) लघुबचत सङ्कलन गरी प्राप्त गरेको रकम,
(क२) बाणिज्य बैङ्क वा वित्तीय संस्थाबाट प्राप्त गरेको रकम ।
(ख) संस्थाको सदस्यहरूबाट प्राप्त शुल्कमध्ये तोकिए बमोजिमको रकम,
(ग) संस्थाले प्रदान गरेको सेवा बापत प्राप्त सेवा शुल्कको रकम,
(घ) लघुकर्जाबाट प्राप्त ब्याज, शुल्क आदि रकम,
(ङ) अन्य श्रोतबाट प्राप्त रकम ।
(२) संस्थाको नामबाट गरिने सबै खर्चहरू उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ ।
तर लघुबचतबाट सङ्कलन भएको तथा लघुकर्जाको लागि प्राप्त रकम अन्य प्रयोजनको लागि खर्च गर्न पाइने छैन ।
(३) कोषको रकम कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्थामा खाता खोली जम्मा गरिनेछ र त्यस्तो खाताको सञ्चालन तोकिएबमोजिम हुनेछ ।
(४) संस्थाले तत्कालै लघुकर्जा प्रवाह गर्न सक्ने स्थिति नभएको खण्डमा बैङ्कको स्वीकृति लिई बढीमा छ महिनासम्मको लागि आवधिक निक्षेपमा लगानी गर्न सक्नेछ ।